जाजरकोट र कपिलवस्तुमा शनिबार भएका दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन्।
जाजरकोटमा अटो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। थप तीन जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी जिल्लाको नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र सोही ठाउँका ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ।
उनीहरू दुबै जनाको उपचारका क्रममा मध्याह्न सवा १२ तिर नगर अस्पताल दल्लीमा मृत्यु भएको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक सुधिरराज खड्काले बताए।
दुर्घटनामा परी नलगाड–२ डाँडा गाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार घाइते छन्।
तीनै जना घाइतेलाई नगर अस्पताल दल्लीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगंजका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।
तीनै जना घाइतेको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ।
शनिबार बिहान करिब सवा ११: १५ बजेतिर रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीबाट छिमेकी जिल्ला जाजरकोटको नलगाड –१२ तल्लु बगरतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो।
जाजरकोट–डोल्पा सडक खण्डको भेरी करिडोर अन्तर्गत नलगाड नगरपालिका–८ मालुवामा अटो दुर्घटना भएको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
कपिलवस्तुमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा ट्रक र दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला शिवराज नगरपालिका–१ बनकसबासमा शनिबार बिहान करिब ९:४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ क ६६६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ८३ प ४४८४ नम्बरको मोटरसाइकललाई सुरूमा ठक्कर दिएको थियो। त्यसपछि त्यो मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ३५८४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किन पुगेको थियो।
ट्रकले सुरूमा ठक्कर दिएको रा ३ प ३५८४ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो।
अन्दाजी ३४ वर्षीय ती पुरूषको सनाखत भइसकेको छैन। उनी मोटरसाइकलमा एक्लै सवार थिए।
गम्भीर अवस्थाका उनलाई आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटा पुर्याउना साथ बिहान १० बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, अर्को मोटरसाइकल बा ८३ प ४४८४ नम्बरको मोटरसाइकल चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव र सोही मोटरसाइकलमा पछाडि सवार गढवा –१ हेठान गाउँका २१ वर्षीय अनिल योगी घाइते छन्।
उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए।
उनीहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।
ट्रक चालक पर्साको पोखरीया नगरपालिका – ६ सिरसियाका ३२ वर्षीय ओमप्रकाश महतो नियन्त्रणमा छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।