काठमाडौंबाट गएको गाडी सिन्धुलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
आइतबार बिहान साढे २ बजेतिर फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा को. १ ज २९७६ नम्बरको गाडी दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठका अनुसार घटनास्थलमा तीन जना महिलाको शव फेला परेको छ। ती तीन जना महिलाको सनाखत हुन सकेको छैन।
दुर्घटनामा चालकसहित चार जना घाइते समेत छन्। ओखलढुंगा बस्ने २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी, १३ वर्षीय अंकित विक घाइते छन्। सम्झनाको अवस्था गम्भीर रहेको डिएसपी श्रेष्ठले बताए।
सडकबाट २०० मिटर तल सुनकोशी नदीमा गाडी खसेपछि प्रहरीले उद्धार गरी उनीहरूलाई घुर्मि उदयपुर स्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा उपचार गराइरहेको छ। चालकको भनाई अनुसार ३ जना अझै बेपत्ता छन्।
इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरीको टोली खटिएर खोजी तथा उद्धारको काम गरिरहेको छ।