सिन्धुलीमा गाडी दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ।
आइतबार बिहान साढे २ बजेतिर फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा को. १ ज २९७६ नम्बरको गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा परी तीन जना महिलाको मृत्यु भएको छ। त्यस्तै, तीन जना बेपत्ता समेत भएका छन्।
उनीहरूको खोजी गर्न सशस्त्र प्रहरी बलको नेपाल बिपद ब्यबस्थापन वेश खुर्कोटबाट ९ जना गोताखोर सहित १० जनाको टोली परिचालन भएको सह प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार अस्थायी बेस हर्कपुर ओखलढुंगाबाट पनि १० जनाको टोली खटिएको छ। नेपाल प्रहरीको टोली पनि परिचालन भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठका अनुसार घटनास्थलमा ज्यान गुमाएका तीन जना महिला सनाखत हुन सकेको छैन।
दुर्घटनामा चालकसहित चार जना घाइते समेत छन्। ओखलढुंगा बस्ने २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी, १३ वर्षीय अंकित विक घाइते छन्। सम्झनाको अवस्था गम्भीर रहेको डिएसपी श्रेष्ठले बताए।
सडकबाट २०० मिटर तल सुनकोशी नदीमा गाडी खसेपछि प्रहरीले उद्धार गरी उनीहरूलाई घुर्मि उदयपुर स्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा उपचार गराइरहेको छ। चालकको भनाई अनुसार ३ जना अझै बेपत्ता छन्।