शरद ऋतुको सफा निलो आकाश, मन्दमन्द बगिरहेको चिसो सिरेटो र खेतबारीमा पहेँलपुर झुलेका धानका बालाहरू। अनि त्यही आकाशमा चञ्चल भएर चराझैँ तैरिरहेका रंगीबिरंगी चङ्गाहरू।
नेपालीहरूको महान चाड बडादसैं भित्रिएको सबैभन्दा सुन्दर, मौलिक र जीवन्त संकेत यही हो।
कुनै समय काठमाडौं उपत्यकाका हरेक घरका कौसी र छतबाट गुञ्जिने चङ्गा चेटको आवाज आजभोलि सहरका अग्ला कङ्क्रिटका भवन र व्यस्तताले गर्दा केही संकुचित देखिए पनि यसको मौलिक उल्लास भने अलिकति पनि घटेको छैन। बरू दसैंको बिदामा युवा तथा बालबालिकाहरू परम्परागत लट्टाई र चङ्गाको झोला बोकेर उपत्यका वरिपरिका खुला हरियाली डाँडाहरूमा पुगेका छन्।
काठका आकर्षक बुट्टा कुँदिएका परम्परागत लट्टाई, विभिन्न रङ र आकारका चङ्गाहरू, तान्ना (कन्नी) बाँध्ने र माञ्झा धागो सुल्झाउने तन्मयता, अनि चङ्गा जुधाउँदाको उत्कण्ठा–यी सबै दृश्यहरूले दशैँलाई साँच्चिकै स्वर्णिम बनाएका छन्।
घामको न्यानो किरण र निलो आकाशलाई साक्षी राखेर दुई हातले लट्टाई माथि उठाउँदै युवाहरू दसैंको बिहानी घाममा चङ्गालाई आकाशको अनन्त गहिराइमा पुर्याउने उत्साहमा रमाएका छन्।
डाँडाको घाँसे मैदानमा बसेर चङ्गा छानिरहेका देखिन्छन्। पहेंलो, रातो, कालो र नीलो रङका परम्परागत नेपाली कागजका चङ्गाहरू उडाउनका लागि तयारी अवस्थामा छन्।
दसैं केवल खानपिन, दक्षिणा र नयाँ लुगामा मात्र सीमित पर्व होइन। यो खुला आकाशसँगको आत्मीय संवाद हो, बाल्यकालका ती मीठा स्मृतिहरूको पुनरावृत्ति हो र प्रविधिको कृत्रिम बन्दी बनेको आधुनिक जीवनलाई प्रकृतिको खुला काखमा फर्काउने सुन्दर बहाना हो।
काठमाडौंका डाँडाहरूमा हावाको लहरसँगै उडाइएका यी चङ्गाहरूले एउटा गहिरो सन्देश दिएका छन्।
आकाश जतिसुकै विशाल भए पनि आफ्नो लट्टाई र संस्कृतिको धागो सधैं आफ्नै हातमा बलियो हुनुपर्छ।
‘चङ्गा चेट’ को यो अद्वितीय उल्लास र खुसी हामी सबैको जीवनमा सधैं छाइरहोस् । –न्युज एजेन्सी नेपाल







-1792311718.jpg)



तस्बिरहरू: अनुप प्रधान, न्युज एजेन्सी नेपाल