यस वर्षको दसैंमा काठमाडौं उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा निकै महँगो भएको छ।
गत वर्षको दसैंमा खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा बिक्री भएकोमा अहिले यसको मूल्य प्रतिकिलो सयदेखि १७ सय रुपैयाँ १८ सय ५० सम्म पुगेको छ।
नेपालको सबैभन्दा बढी मासु खपत हुने पर्व दसैंको मुखमा बजारमा खसीको मूल्य बढे पनि किसानले भने सोचेअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन्।
खसी व्यापारीहरूले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढीपहिरोपछि ग्रामीण क्षेत्रबाट खसीबोका ल्याउन कठिन हुनुलाई मूल्यवृद्धिको कारण मानेका छन्।
काभ्रेबाट खसीबोका विक्री गर्न आएका किसान बैनसिंह मोक्तानले खसी बिक्री गर्न समस्या नभए पनि सोचेअनुसार मूल्य पाउन सकेका नसकेको गुनासो गरे।
२ सय ५० वटा खसी ल्याएका व्यापारी मुक्तानले २ सय १० वटा बिक्री गरिसकेका छन्।
खसीको वजन हेरेर ७०० सयदेखि ९०० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको उनले बताए।
उनले भने, ‘मैले यो पालि २ सय ५० वटा खसी ल्याएको थिएँ। बिक्री गरिरहेको छु। अब ४० वटा बाँकी छ। २, ३ बजेसम्म यो सबै सकिन्छ। सानो सानो खसीहरू एउटा परिवारले मात्र खानको लागि लैजान्छ, ठूलो चाहिँ दुई तीन परिवारको लागि पनि मिलेर किन्छन्। तर पोहोरको तुलनामा यो वर्ष खसीको मासुको भाउ चाहिँ महँगो नै छ। सबैभन्दा सस्तोको प्रतिकिलो ७५० रुपैयाँमा आउँछ। त्योभन्दा मुनि चाहिँ आउँदैन। बाढीका कारण नाका बन्द हुनु, पश्चिम एसियाको द्वन्द्वको कारण पनि महँगिएको हुनुपर्छ।’
यता किसानले उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला उपभोक्ताले भने मासु पललबाट १७०० सयदेखि १८ सय ५० रुपैयाँ प्रतिकिलो रुपैयाँमा किन्नुपरेको छ।
मासु उपभोक्ता अमृत तिवारीले जिउँदो खसीको प्रतिकिलो ९ सयदेखि १ हजार र तयारी मासु १८ सय देखि २ हजार प्रतिकिलोको हिसावले किनिरहेको बताए।
उनले भने, ‘यो वर्ष खसीको मासु अलिकति महंगो छ। यसपटक भारतीय खसी नभित्रिएको कारणले पनि हुनसक्छ खसीको मासु महंगिएको छ। हामीले जिउँदो खसी ९०० रुपैयाँ प्रतिकिलो किनिरहेका छौँ। तयारी मासुको लागि २ हजारसम्म हाल्नुपर्ने अवस्था छ।’
दसैंको दुई सातामा उपत्यकामा मात्रै तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसीबोका विक्री अनुमान गरिएको छ। –न्युज एजेन्सी नेपाल