प्युठानमा एक जना कैदीबन्दी जिल्ला कारागारभित्रै मृत फेला परेका छन्।
जिल्लाको गौमुखी गाउँपालिका–३ का २७ वर्षीय ओमबहादुर घर्ती आइबार दिउँसो कारागारको बाथरूमभित्र मृत फेला परेका हुन्।
हाडनाता करणी सम्बन्धी मुद्दामा जिल्ला अदालतले घर्तीलाई १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो।
विगत ५ वर्षदेखि उनी कैदमा थिए। ५ वर्षको कैद भुक्तान गरिसकेका घर्ती आइतबार दिउँसो जिल्ला कारगार कार्यालयको बाथरूममा नुहाउन भनेर गएका थिए।
तर, उनी धेरै बेरसम्म पनि ननिस्किएपछि कारागारका पानी नाइके र अन्य कैदीबन्दी मिलेर ढोका खोली हेर्दा उनी त्यही मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
घटना आइतबार २ बजेतिरको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ।