धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका-५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका-७का २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी ओमप्रकाश खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते धिरजलाई तत्काल उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएकोमा तत्काल चिकित्सकले मृत घोषणा गरेको हो।
सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका-२का २० वर्षीय राकेश मण्डल घाइते भएको डिएसपी खनालले बताए।
घाइतेमध्ये निरजको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
घाइते दुबै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने बस र चालक धनुषाधाम नगरपालिका-२का २२ वर्षीय नागेन्द्र महरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।