काठमाडौंको थापाथली सुकुम्बासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन्।
अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको चाड तीज आयो। चुरा पनि लगाउन नपाएर सकियो। अब दसैं र तिहार आएको छ। चाडपर्वको आगमनले उनलाई घरविहीन हुनुपरेको, अघिल्ला वर्षको चाडका दिन सम्झना आउँछ।
घर, रोजगारी गुमेपछि कहाँ जाने, कसरी चाड मनाउने भन्ने चिन्ता थपिएको छ। अघिल्लो वर्ष घर हुँदा परिवार सँगै बस्ने गरेपनि यस वर्ष के गर्ने भन्ने टुंगो नरहेको उनले बताइन्।
‘हामीजस्तो गरिबलाई चाड के हो? दसैं के हो? तिहार के हो?,’ उनले थपिन्, ‘पहिला आफैँ काम गरेर सानो झुप्रो भए पनि परिवारसँग बस्थ्यौं, खान्थ्यौं, रमाइलो गर्थ्यौं। वैशाख १२ गते घर भत्किएपछि परिवार साथमा छैन। कोही कता, कोही कता छन्।’
तीजमा चुरा पनि किनेर लगाउन नसकेको उनले सुनाइन्।
उनी विगत ६ महिनादेखि होल्डिङ सेन्टरमा बस्दै आएकी छन्। सुरूका तीन महिना कीर्तिपुरको होल्डिङ सेन्टरमा बसेकी उनलाई त्यसपछि भक्तपुरको बोडेमा सारिएको थियो। सरकारले छानबिन गर्ने भन्दै आफूहरूलाई होल्डिङ सेन्टरमा ल्याएर राखे पनि त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्नेबारे कुनै टुंगो नलागेको उनको भनाइ छ।
होल्डिङ सेन्टरमा बस्नका लागि ठाउँ ठीकै रहेको तर जीविकोपार्जनको समस्या भएको उनले बताइन्। विस्थापित हुनुअघि आफूहरू बसेको ठाउँ वरपर ठूला घर रहेको र त्यहाँ काम गरेर गुजारा चलाउने गरेको उनले सुनाइन्।
मासिक १०–१२ हजार रुपैयाँ कमाइ हुँदा पनि खानलाउन पुगेको थियो। तर, घर भत्किएर होल्डिङ सेन्टरमा आएपछि रोजगारीको अवसरसमेत गुमेको छ।
‘अहिलेसम्म सरकारले बिहान–बेलुकाको खाना दिएको छ। तर, यसरी कति दिन बस्ने? सरकारले छिटो दीर्घकालीन बासस्थानको व्यवस्था गरिदिए हुन्थ्यो,’ उनले भनिन्, ‘त्यसपछि काम गरेर परिवारसँग बसेर खान सकिन्थ्यो।’
-ink-1792379442.jpeg)
शंखमुलको सुकुम्बासी बस्तीबाट विस्थापित पवन गुरुङलाई पनि दसैंको मुखमा आफ्नै घर नहुनुको पीडाले सताएको छ।
हाल संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष उनी वैशाख ८ गते खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएका थिए। घर भत्काउनुअघि नै बासस्थानको व्यवस्था गर्न सुझाव दिएको भएपनि त्यसलाई बेवास्ता गरिएको र अहिले आफूहरू बिचल्लीमा परेको उनको गुनासो छ।
होल्डिङ सेन्टरमा दालभात उपलब्ध रहेको तर सबैको आवश्यकता पूरा नभएको उनी बताउँछन्। विशेषगरी बिरामी र बालबालिकाले आवश्यक पोसिलो आहार पाउन नसकेको उनको भनाइ छ।
उनकाअनुसार घर भत्काइएको दुई महिनापछि सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ दिएको थियो। तर, त्यसपछि भाडामा बस्नेहरूलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने भनिए पनि कसैले उक्त रकम नपाएको उनको गुनासो छ।
सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्ने र लालपुर्जा उपलब्ध गराउने आश्वासन पटकपटक पाएको भए पनि कहिले जग्गा पाइन्छ भन्ने टुंगो नलागेको गुरुङ बताउँछन्। होल्डिङ सेन्टरमा बसिरहेका परिवारको मुख्य चिन्ता अहिलेको खानपानभन्दा पनि दीर्घकालीन बासस्थान र जीविकोपार्जनको माध्यम के बनाउने भन्ने छ।
‘संसदमा बोल्दा मन्त्रीले सुकुम्बासीलाई जग्गा दिने हो, पिर गर्नुपर्दैन भन्नुभएको छ,’ उनले प्रश्न गरे, ‘पीडितलाई जग्गा कहिले बाँड्ने? हामी मरिसकेपछि?’
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी



