काठमाडौंको व्यस्त सडक। एकातिर कालो धुवाँको मुस्लो छाड्दै तीव्र गतिमा गुडिरहेका टिपर र मोटरसाइकलहरूको कर्कश आवाज। अर्कोतिर अग्ला कंक्रिटका घरहरू र धुलोले ढाकिएका सडकपेटी।
सहर आफ्नो नियमित रफ्तारमा दौडिरहेको थियो। तर त्यही व्यस्त सडकको छेउमा रहेको एउटा सानो खाली माटोको चौरमा भने समय एकाएक थामिएझैं लाग्थ्यो। त्यहाँ ठडिएको थियो, चारवटा अग्ला बाँसका लिङ्गाहरू आपसमा गाँसिएको एउटा भव्य लिङ्गे पिङ। परम्परा र आधुनिकताको योभन्दा जीवन्त द्वन्द्व र मेल सायद काठमाडौंमा अन्त कतै देख्न पाइँदैनथ्यो।
मध्याह्नको चर्को घाम सिधै आकाशबाट खसिरहेको थियो। बाँसको टुप्पोमा बाँधिएको बाबियोको चमरबाट प्रकाश छरपस्ट भएर लेन्समा ठोक्किँदा पिङको काठको फलेकमा बसेको त्यो सानो ज्यान कालो सिल्हूट बनेर आकाशमा तैरिरहेको देखिन्थ्यो। न कुनै भिडिओ गेम, न कुनै कृत्रिम संसार। त्यहाँ केवल घामको राप, हावाको वेग र एउटा बालकको उड्ने तृष्णा थियो।
सेतो टिसर्ट र स्नीकर लगाएको एउटा सानो बाबु जब दुई हातले सनपाटको डोरी समातेर अगाडि हुत्तियो, उसको अनुहारमा फुल्ने त्यो निष्कपट हाँसोले सडकको सारा कोलाहललाई क्षणभरमै निस्तेज बनाइदियो।
खुट्टा हावामा तेर्सिएका थिए, अनि आँखामा थियो खुला आकाश जित्दाको अद्भूत चमक। केही बेरपछि पिङमा उक्लिन आइन् एउटी किशोरी। सधैं कलेज र चार पर्खालको बन्धनमा सीमित रहने उनका पाइलाहरूले जब धर्ती छाडे, हावासँगै उनका कपालहरू लहराए। उनको ओठमा फुलेको त्यो लाजमिश्रित तर उन्मुक्त मुस्कानले भनिरहेको थियो। मान्छेलाई खुसी हुन धेरै कुरा चाहिँदैन, केवल मनको पखेटा फिँजाउने एउटा निहुँ भए पुग्छ।
एकातिर आधुनिक सडकबत्तीको सोलार पोल, अर्कोतिर सदियौँ पुरानो बाँसको पिङ। तीव्र गतिमा गुडिरहेका गाडीहरूका चालक पनि एकछिन ब्रेक लगाएर पिङतिर हेर्थे। पिङमा मच्चिरहेको साथीलाई हेर्दै तल दर्जनौँ बालबालिकाहरू पालो कुरिरहेका थिए।
यो सहरमा मानिसहरू बैंकको लाइन, अस्पतालको लाइन वा ट्राफिक जामको लाइनमा रिस र छटपटी पोख्छन्। तर यहाँ बाँसको फेदमा बसेर पालो कुर्नुमा कसैलाई हतार थिएन, सबैका आँखाहरू पिङको गतिसँगै माथि र तल नाचिरहेका थिए।
तस्बिरहरू:








तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल