दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ।
प्रहरीले दक्षिणकालीको फर्पिङ नाकाबाट ठूलो मात्रामा लागुऔषध ट्रामाडोल बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार ट्रामाडोलका ७२ हजार ८० क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
'चाडको मौका छोपेर लागुऔषधलाई उपत्यकामा भित्र्याउन खोजेको देखियो। दुई जना मानिसहित ट्रामाडोल बरामद भएको छ,' उनले भने।
सोमबार बिहान करिब साढे ४ बजे फर्पिङस्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाएर ल्याइएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो।
प्रहरीले लागूऔषधसहित बाराको कलैया उपमहानगरपालिका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई नियन्त्रणमा लिएको छ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।