विजयादशमीको मुख्य दिन आज बडादसैंको टीका लगाउन सुरू भएको छ। दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
बिहान १०:२६ बजेको उत्तम साइतमा टीका लगाउन सुरू गरिएको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिले टीका ग्रहण गर्न साइत खोज्नेहरूका लागि उक्त समय निर्धारण गरेको हो।
विजयादशमी आफैमा शुभ दिन मानिने भएकाले टीका लगाउन साइत खोज्नु पर्दैन। आज बिहानदेखि दिनभर नै बडादसैंको टीका लगाउन सकिन्छ।
बिहान १०:२६ बजेको उत्तम साइत भए पनि टीका थाप्न टाढाटाढा जानुपर्ने कतिपयले बिहानै दुर्गा विसर्जन गरेपछि टीका लगाउन सुरू गरेका थिए।
समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएकी देवीको विसर्जनका लागि आज बिहान ८:४९ बजेको साइत निर्धारण गरेको थियो।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गर्दा वर्षभरि शान्ति प्राप्त हुने धार्मिक विश्वास छ। त्यसैले मान्यजनबाट टीका र प्रसाद ग्रहण गर्नुअघि अभिषेक गर्ने परम्परा छ।
घरमा टीका लगाएपछि कतिपय सर्वसाधारण काठमाडौं बाहिर जान पनि निस्किएका छन्। टीकापछि काठमाडौं उपत्यकाबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका छन्।
बडादसैंको टीकाको मुख्य दिन आज भए पनि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा ग्रहण गर्ने प्रचलन छ।















