दसैंको टीका थाप्न जाँदै गरेका बाबु–छोराको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देविराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिवस जिसीले बताए।
उनका अनुसार विवेक परिवारका एक्ला छोरा हुन्। देविरामका तीन छोरीहरू विदेशमा छन्।
घरमा टीका थापेर मावली ससुराली भूमिकास्थान–२ भूमेकाथान तर्फ टीका थाप्न जाँदै गरेका बाबु-छोरा सवार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा बिहीबार बिहान फेला परेको थियो।
डिएसपी जिसीका अनुसार बाबु–छोरा सवार मोटरसाइकल बुधबार दिउँसो ३ बजेपछि दुर्घटनामा परेको अनुमान गरिएको छ।
‘दुर्घटनास्थल केही लामो ओरालो भए पनि कालोपत्रे बाटो छ,’ जिसीले भने, ‘ओरालो बाटोमा मोटरसाइकल मुनी झरेको देखिएको छ।’
ओलारोमा मोटरसाइकल तीव्र गतिमा हुनसक्ने वा ब्रेक नलागेका कारण भीरबाट झन्डै ६० मिटर खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बाबु-छोराको शव नजिकै चार-पाँच मिटरको दुरीमा फेला परेको पनि प्रहरीले जनाएको छ। मोटरसाइकल छोराले हाँकेका थिए। उनी काठमाडौंमा अध्यनरत थिए भन्ने खुलेको प्रहरीले जनाएको छ।
आफन्तले राति अबेरसम्म प्रतिक्षा गरिरहेका थिए। तर, राति अबेर भइसक्दा पनि आइनपुगेपछि बल्ल उनीहरुको मनमा चिसो पसेको थियो। त्यसपछि बुधबार राति ९ बजेतिर आफन्तले प्रहरीलाई सूचना दिएको डिएसपी जिसीले बताए।
खोजीकै क्रममा बिहीबार बिहान बाबु-छोरा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको डिएसपी जिसीले जानकारी दिए।