झापाको बिर्तामोडमा बिहीबार बिहान ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
आगलागीबाट क्यान्टिनमा रहेका सामान, नगद र चौपायासमेत जलेर नष्ट भएका छन्।
मृत्यु हुनेमा गौरीगञ्ज नगरपालिका–२ का ६५ वर्षीय रूद्रबहादुर तामाङ छन्।
उनी उक्त क्यान्टिनमा काम गर्दै आएका थिए। आगो निभाएपछि गरिएको खोजीका क्रममा क्यान्टिनभित्र उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–२, रामचोकमा रहेको बडी ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान करिब ४:१० बजे आगलागी भएको थियो।
ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित उक्त ग्यारेज रवि राजवंशीले चलाउँदै आएका थिए।
आगलागीको सूचना पाएपछि प्रहरी, दमकल र स्थानीयवासी घटनास्थल पुगेका थिए।
उनीहरूको संयुक्त प्रयासमा बिहान ४:३० बजेतिर आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र एक लाख रूपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक विवरण अनुसार क्यान्टिनतर्फ करिब तीन लाख रूपैयाँ बराबरको क्षति भएको छ।
क्यान्टिनसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्स गोदाममा पनि आगो सल्किएको थियो।
आगो निभाउने क्रममा गोदाममा रहेका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर क्षति पुगेको प्रहरीले जनाएको छ।
उक्त क्षतिको मूल्य करिब २५ हजार रूपैयाँ अनुमान गरिएको छ।
प्रहरीले प्रारम्भिक रूपमा विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।