वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, डिस्टोनिया, नियन्त्रणमा नआएको छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याका बिरामीका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको न्युरोसर्जरी विभाग र अमेरिकाको मेरिल्यान्डस्थित क्यारिलियन अस्पतालको सहकार्यमा उक्त क्लिनिक सञ्चालन गर्न लागिएको हो।
वीर अस्पतालका अनुसार क्लिनिकमा डीप ब्रेन स्टिमुलेसन (डीबीएस), लेजर, स्पाइनल कर्ड स्टिमुलेसन तथा भेगस नर्भ स्टिमुलेसन (भीएनएस) लगायतका विशेष उपचार सेवाका लागि बिरामीको परीक्षण तथा मूल्यांकन गरिनेछ।
क्लिनिक आगामी कात्तिक १० देखि १२ गतेसम्म (अक्टोबर २६ देखि २८, २०२६) सञ्चालन हुनेछ। क्लिनिकमा परीक्षण तथा मूल्यांकनपछि आवश्यक शल्यक्रियाका लागि बिरामी छनोट गरिने अस्पतालले जनाएको छ।
सम्भावित शल्यक्रिया कात्तिक १६ देखि २० गतेसम्म (नोभेम्बर २ देखि ६, २०२६) गर्ने योजना रहेको छ।
सम्बन्धित समस्याबाट पीडित बिरामीलाई समयमै सम्पर्क गरी अपोइन्टमेन्ट लिन अस्पतालले अनुरोध गरेको छ।
