पर्वतको फलेवास नगरपालिका–२, भेडाबारीका खेतमा धान र कोदोका बाला झुलेका छन्।
पहेँलिँदै गरेका धानका बाला, हरियालीले भरिएका डाँडाकाँडा, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन्।
पाक्न थालेको धान र कोदोले खेतबारीलाई पहेँलो बनाउँदै लगेका छन् भने गाउँको कृषि जीवनमा पनि चहलपहल बढेको छ।
दसैंको रौनकसँगै गाउँघरका खेतबारीमा देखिएको यो दृश्यले ग्रामीण जीवन, प्रकृति र कृषिबीचको आत्मीय सम्बन्ध झल्काउँछ।
वर्षभरि मेहनत गरेर लगाएको बाली पाक्ने समय नजिकिएसँगै किसानहरू पनि खुसी देखिन्छन्।
दसैंको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने चटारो सुरू हुनेछ।
पाकेको बाली काट्ने, सुकाउने र घरमा भित्र्याउने तयारीमा किसानहरू जुट्नेछन्। पहाडी क्षेत्रका किसानका लागि धान र कोदोको उत्पादन वर्षभरिको मेहनतको प्रतिफलसमेत हो।
तस्बिरमा देखिएको पहेँलिँदो धान, झुलेका कोदोका बाला, नीलो आकाश र टल्किएका हिमालले पर्वतको ग्रामीण परिवेशलाई अझ आकर्षक बनाएका छन्।
तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी








