मनाङमा पर्ने गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ।
ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए।
'करिब सात हजार ५० मिटरको उचाइबाट सम्पर्कविच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परेका थिए,' प्रमुख जिल्ला अधिकारी खनालले भने, 'लगातारको खोजीपछि शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब छ हजार ३०० मिटर उचाइमा दुवैको शव फेला परेको हो।'
शव काठमाडौं पठाउने तयारी भइरहेको र परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइने जनाइएको उनले बताए।
गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका हुन्।
-रासस