कैलालीमा गाडासँग मोटरसाइकल ठोक्किँदा एक जना किशोरको मृत्यु भएको छ।
अरू दुई जना घाइते छन्।
दुर्घटनामा परी मोटरसाइकल चालक भजनी नगरपालिका–१ का १८ वर्षीय सुजन चौधरीको मृत्यु भएको जिल्ला प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।
जिल्लाको कैलारी गाउँपालिका–३ भर्लीमा शुक्रबार बेलुकीपख से ५ प ३४६५ नम्बरको मोटरसाइकल गोरूले तान्ने गाडाको पछाडि ठोक्किएको थियो।
त्यो दुर्घटनामा परी मृतक सुजनसँगै मोटरसाइकलको पछाडि सवार भजनी–१ कै ५० वर्षीया ज्ञानमती डगौरा र गोरूगाडाका चालक कैलारी गाउँपालिका–३ भडरीका ५५ वर्षीय खुसीराम चौधरी घाइते भएका थिए।
डिएसपी तिमिल्सिनाका अनुसार मोटरसाइकलमा सवार ज्ञानमतीको बायाँ खुट्टा भाँचिएको छ भने उनको अवस्था समेत गम्भीर छ।
त्यस्तै, गाडाचालक खुसीरामको दाहिने हात तथा शरीरका विभिन्न भागमा चोट पटक लागेको हुँदा अवस्था मध्यम छ।
हुलाकी सडकखण्डअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल गाडाको पछाडि ठोक्किँदा उक्त दुर्घटना भएको थियो।
तीनै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको थियो।
सुजनको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ज्ञानमतीको सोही अस्पतालमा र गाडाचालक खुसीरामको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।