बाँकेमा दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। अरू ६ जना घाइते छन्।
बाँके प्रहरीका प्रवक्ता डिएसपी प्रतितसिंह राठोरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो।
टेकबहादुर सवार कारकै चालक डोटी, साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते छन्। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकलमा उपचार जारी छ।
सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही पनि घाइते छन्। उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यो कारका चालक घोराही–७ सौरियारका ४० वर्षीय सम्राटनाथ योगीको अवस्था सामान्य छ। सम्राट इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सौंरीमा दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार र विपरीत दिशाबाट अर्थात् पूर्वतर्फ जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार आपसमा ठोक्किएका थिए।
यो दुर्घटना बिहान करिब ९ बजेतिर भएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।