दसैंलाई पर्यटनसँग जोड्न पोखराका महिला पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई टीका र जमरा लगाउने कार्यक्रम आयोजना गरेका छन्।
पोखराको पर्यटन क्षेत्रमा पहिलो पटक आयोजना गर्न लागिएको 'दसैं पर्यटन तथा सांस्कृतिक महोत्सव' मा विदेशी पर्यटकलाई कात्तिक ८ गते सय वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको हातबाट टीका र जमरा लगाइनेछ।
आयोजकका अनुसार यसमार्फत पर्यटकलाई दसैंको सांस्कृतिक अर्थ र नेपाली समाजको परम्परासँग प्रत्यक्ष जोड्ने प्रयास गरिएको हो।
'टीका, जमरा र चंगा चेट : पोखरामा पर्यटकसँग दसैं भेट' नारासहित आयोजना गरिएको कार्यक्रमको तयारी पूरा भएको आयोजक महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले जनाएको छ।
महोत्सवका अवसरमा कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडको खहरेचोकबाट बाजागाजासहित सांस्कृतिक र्याली निकालिनेछ। र्याली बाराहीघाट मैदानमा पुगेर मुख्य कार्यक्रममा परिणत हुनेछ।
'हाम्रो मौलिक सांस्कृतिक चाडपर्वलाई पर्यटनसँग जोड्न यो कार्यक्रम आयोजना गरेका हौं,' महोत्सवकी संयोजक उमा रेग्मी भण्डारीले भनिन्, 'विदेशी पर्यटकलाई दसैं बुझाउने उद्देश्य राखेका छौं। यो सम्पूर्ण पोखराबासीको महोत्सव हो।'
महोत्सवमा नेपाली परम्परा अनुसार पर्यटकलाई टीका र जमरा लगाइनेछ। त्यससँगै मालश्री धुन बजाइने र राष्ट्रिय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम छ।
यस्तै, पर्यटक दौड लगायतका कार्यक्रम पनि राखिएको संयोजक भण्डारीले बताइन्।
दसैंलाई पर्यटनसँग जोड्ने प्रयास केवल सांस्कृतिक प्रदर्शनमा सीमित नरहने आयोजकहरूले बताएका छन्। परम्परागत पिङ, नेपाली मौलिक खानाका परिकार, विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादन र पर्यटनसम्बन्धी स्टल पनि महोत्सवमा रहनेछन्।
पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पोखरामा अहिले विदेशी पर्यटकको आगमन भइरहेकाले उनीहरूलाई नेपाली पर्वको प्रत्यक्ष अनुभव गराउनु पर्यटनका लागि महत्त्वपूर्ण अवसर हुने बताए।
'विदेशी पर्यटक पनि नेपालीहरूले झैं दसैंको टीका लगाउन चाहनुहुन्छ,' भुजेलले भने, 'दसैं पर्वलाई विश्वमाझ पुर्याउन यस कार्यक्रमले सहयोग गर्छ।'
नेपालको पर्यटन लामो समयदेखि हिमाल, पदयात्रा, ताल र प्राकृतिक दृश्यमा केन्द्रित हुँदै आएको छ। तर पर्यटन व्यवसायीहरूले पछिल्लो समय पर्यटकलाई स्थानीय जीवन, संस्कृति, खानपान र परम्परासँग जोड्ने अनुभवलाई पनि पर्यटन उत्पादनका रूपमा अघि बढाउन खोजिरहेका छन्।
भुजेलका अनुसार दसैंलाई पर्यटकमाझ प्रस्तुत गर्नु त्यही प्रयासको हिस्सा हो।
'दसैंलाई पर्यटकमाझ उजागर गर्दा हाम्रो चाडपर्व विश्वव्यापी बन्छ र पर्यटक आकर्षित गर्न सक्छ,' उनले भने, 'यस प्रकृतिको कार्यक्रम नेपालमै पहिलो पटक आयोजना हुँदैछ।'
महोत्सवले पोखराको पर्यटनलाई संस्कृतिसँग जोड्नुका साथै पर्यटकलाई अविस्मरणीय अनुभव दिलाउने आयोजकको विश्वास छ।
महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष ममता न्यौपानेले छोटो समयको तयारीमा महोत्सव आयोजना गर्न लागिए पनि सरकारी निकाय, पर्यटनसम्बद्ध संघसंस्था, उद्योगी तथा व्यवसायीबाट सहयोग प्राप्त भएको बताइन्।
'छोटो समयको तयारीमै हामीले दसैं पर्यटन महोत्सव आयोजना गर्दैछौं,' न्यौपानेले भनिन्, 'यसले पोखरामा पर्यटकलाई नयाँ अनुभव दिनेछ।'
महोत्सवमा स्वदेशी तथा विदेशी गरी करिब १० हजार पर्यटक सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष न्यौपानेले बताइन्।
महोत्सवलाई आगामी वर्ष पनि निरन्तरता दिने उनले बताइन्।
पोखरामा आयोजना हुने महोत्सवले नेपाली पर्वलाई पर्यटकले नेपाली संस्कृति अनुभव गर्ने मेलाका रूपमा स्थापित गर्ने आयोजकको लक्ष्य छ।
यसले पोखरा आउने पर्यटकलाई हिमाल, ताल र पदयात्रामा मात्र सीमित नगरी नेपाली संस्कृति प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्ने अध्यक्ष न्यौपानेले बताइन्।