चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको संख्यामा उल्लेख्य कमी आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो।
कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को दसैं अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए।
चालु आर्थिक वर्ष २०८३/८४ को दसैँ अवधिमा भने नौ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या २४ वटाले घटेको छ । त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घटेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, कडाइका साथ गरिएको सवारी जाँच, चुस्त सुरक्षा व्यवस्था र ट्राफिक सचेतनाका कारण दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको बताए।
उनका अनुसार जिल्लाका मुख्य स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराबाट निगरानी, ट्राफिक प्रहरीद्वारा बडी वोर्न क्यामेराको प्रयोग तथा मुख्य सडकखण्डमा कडाइका साथ गरिएको सवारी जाँचले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याएको छ।
साथै चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउनु र निरन्तर ट्राफिक सचेतना अभिवृद्धि गर्नुले पनि दुर्घटना तथा मानवीय क्षति घटाउन योगदान पुर्याएको प्रमुख थापाले जानकारी दिए।