धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादले गम्भीर रूप लिँदा एक दम्पतीको ज्यान गएको छ।
आइतबार बिहान श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमानले नै श्रीमतीको हत्या गरी आफूले पनि ज्यान गुमाएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार मिथिला बिहारी–४ भरतपुरका ३५ वर्षीय उमेश यादवले ३० वर्षीया श्रीमती रीनादेवी यादवको हत्या गरेका हुन्।
त्यसपछि आफू करिब एक किलोमिटर टाढा गई रूखमा झुन्डिएर आफ्नै ज्यान लिएका हुन्।
मृतक उमेश केही महिनाअघि मात्र वैदेशिक रोजगारीबाट घर फर्किएका थिए।
त्यसयता उनीहरूबीच लगातार पारिवारिक झगडा हुँदै आएको थियो। सोही कलहका कारण रीनादेवी डेढ महिनाअघि आफ्नो ४ वर्षीय छोरालाई लिएर मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी थिइन्। माइतीमा रहे पनि उनीहरूबीचको विवाद रोकिएको थिएन।
प्रहरीका अनुसार शनिबार साँझ मात्र उमेश सुसुराली पुगेका थिए।
शनिबार मध्यराति उनीहरूबीच पुनः विवाद भएपछि उमेशले धारिलो हतियार प्रहार गरी रीनादेवीको हत्या गरेको अनुसन्धानमा खुलेको छ।
आइतबार बिहान १ बजेतिर घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले अनुसन्धान गर्दा सुसुराली घरबाट करिब एक किलोमिटर पश्चिमतर्फ उमेश मृत फेला परेका हुन्।
'उमेशको शव फेला परेको स्थान नजिकै धारिलो हतियार पनि भेटिएको छ र उनको शरीरभरि रगत लतपतिएको थियो,' प्रवक्ता खनालले भने, 'घटनाक्रम, प्रमाण र आफन्तहरूको बयानका आधारमा श्रीमतीको हत्या गरेर उनले पनि ज्यान गुमाएको देखिन्छ।'
यस घटनामा उनीहरूको ४ वर्षीय छोरामाथि समेत धारिलो हतियार प्रहार भएको छ।
गम्भीर घाइते भएका बालकको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
अहिलेसम्मको अनुसन्धानमा घटनामा अन्य व्यक्तिको संलग्नता खुलेको छैन। मृतक दम्पती रीनादेवी र उमेशको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पठाइएको छ।
पारिवारिक विवादका कारण यो जघन्य घटना घटेको देखिए पनि यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी खनालले जानकारी दिए।