रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्म 'बिगुल' को शुभ मुहूर्त गरिएको छ।
बुधबार कोटेश्वर महादेवस्थानमा फिल्मको शुभ मुहूर्त गरिएको हो। वैशाख तेस्रो साताबाट छायांकन सुरू गरिने 'बिगुल' को मुहूर्त सटमा बेनिशा हमाल र नरेन खड्काले अभिनय गरेका थिए।
समाजिक जागरण, समसामयिक राजनीति, आमनागरिकको कर्तब्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको 'बिगुल' को मुहुर्त सटमा चलचित्र विकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसीले क्यामेरा स्वीच अन गरेका थिए भने निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हानेका थिए।
चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन्। अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरूपको संवाद बोलेका थिए भने संवादसँगै अभिनेत्री बेनिशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरुप एक जोडी परेवा उडाइएकी थिइन्।
दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा, संवाद रहेको फिल्म शिव ढकालले खिच्नेछन्। कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन्। म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको फिल्ममा नरेन र बेनिशाका साथमा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, विनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारीका साथमा बालकलाकार श्रेयान्सी थपलीयाले अभिनय गर्दैछन्।
फिल्मका गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ। कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मको निर्माण व्यवस्थापकमा श्याम केसी छन्। मुहूर्त समारोहमा नेपाल जेसिसका पूर्व अध्यक्ष फूलकुमार लालवानी, त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन विष्णुहरि कोइराला, नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मी बिलास कोइराला, चितवन काठमाडौं सम्पर्क समाजका अध्यक्ष ऋषिश्वर थपलिया, निर्देशक ऋषि लामिछानेलगायतका व्यक्ति उपस्थित थिए।