नेपाली फिल्म 'अञ्जिला' ले प्रदर्शनको ५१ औं दिन मनाएको छ।
गतवर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले देशभरमा ४५ शोहरूसहित ५१ औं दिन मनाएको हो। यस अवधिमा फिल्मले १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गरेको छ।
'हामी सफलताका साथ ५१ दिनमा पुगेका छौं। अञ्जिला नेपाली फिल्मको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली वायोपिक फिल्म बनेको छ,' निर्देशक चाम्सले भने।
फिल्म युनिटले यो उपलब्धिको अवसरमा शुक्रबार विशेष समारोहको आयोजना गरेको छ। निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता दिलाएको बताए।
'अञ्जिला' नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन्। फिल्ममा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।
वर्ष २०८१ को अन्त्यतिर रिलिज भए पनि 'अञ्जिला' ले गत वर्षका उत्कृष्ट पाँच फिल्ममा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो।