दीपेन्द्र के खनाल निर्देशित फिल्म 'के घर के डेरा: घर नं २' को ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा घर र डेराबीच अन्तर देखाइएको छ।
घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ। घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा प्रष्टसँग देखाउने काम निर्देशकले गरेका छन्।
'पशुपतिप्रसाद', 'आमा', 'चिसो मान्छे' जस्ता सफल सोसल ड्रामामा फिल्म दिएका निर्देशक खनालको फिल्म 'के घर के डेरा: घर नं २' जेठ २ गतेदेखि प्रदर्शनमा आउँदैछ।
फिल्मले घर र डेराबीचको अन्तरको कथा भन्नेछ। घर र डेराबीचको फरक बसाइले जीवनमा पारेको प्रभावको कथा भन्नेछ।
'के घर के डेरा: घर नं २' को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो फिल्म हो।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।
कृष्णबहादुर थापाको फिल्ममा छायांकन रहेको छ। 'के घर के डेरा: घर नं २' को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।