'पशुपतिप्रसाद', 'आमा', 'चिसो मान्छे' जस्ता सोसल ड्रामामा फिल्म दिएका निर्देशक दीपेन्द्र के. खनाल निर्देशित आगामी फिल्म 'के घर के डेरा: घर नं २' जेठ २ गतेदेखि प्रदर्शनमा आउँदै छ।
यतिबेला यो फिल्मको ट्रेलरले उत्साहजनक भ्युज पाएको छ।
दर्शकले फिल्मको ट्रेलरलाई लिएर सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। शुक्रबार सार्वजनिक ट्रेलरले आइतबार बिहानसम्म युट्युबमा १० लाखभन्दा बढी भ्युज पाइसकेको छ।
ट्रेलरले राम्रो प्रतिक्रिया र भ्युज पाएसँगै निर्माण टिम उत्साहित देखिएको छ।
निर्देशक खनालले भने, 'हामीलाई ट्रेलरमार्फत जसरी दर्शकले माया दर्शाउनु भएको छ, यस्तै माया हलमा फिल्मले पनि पाउने अपेक्षा गरेका छौं।'
फिल्म राम्रो बनेको र राम्रो टिमले मेहनत गरेकाले दर्शकलाई निराश नबनाउने उनको भनाइ छ।
'के घर के डेरा: घर नं २' को सार्वजनिजक ट्रेलरमा घर र डेराबीचको अन्तर छ। घर मोहले निम्त्याएको समस्या, घर प्रतिष्ठाको मुख्य प्रतीक हो भन्ने अहिलेको यथार्थलाई देखाइएको छ।
घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ। घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा देखाइएको छ।
'के घर के डेरा: घर नं २' को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो फिल्म हो। फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सज्जन श्रेष्ठ, गौरव विष्ट, शंकर आचार्य, रूविना घिमिरे (बाल कलाकार) लगायतको अभिनय छ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ। निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माता युवराज कार्की हुन्।