दिनेश राउतको निर्देशनमा बनेको फिल्म 'महाभोज' मा समावेश 'लालुमै' बोलको गीत सार्वजनिक गरिएको छ।
आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक यो गीतमा निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर छ। यसका शब्द हर्क साउदले लेखेका हुन् भने संगीत कोशिस क्षेत्री र केतन क्षेत्रीको छ। एरेन्जको काम पुष्कर खत्रीले गरेका छन्।
भिडिओमा निश्चल बस्नेत, दयाहाङ राई, खगेन्द्र लामिछाने, मलिका महत, अञ्जना बराईली, गौमाया गुरूङ र कमल सिंहलगायत कलाकारहरू देखिएका छन्।
विवाहको परिवेशमा रहेर फिल्मको कथाअनुसार भिडिओ तयार पारिएको छ, जहाँ परिवार, साथीभाइ र गाउँलेको रमाइलो माहौल झल्किएको छ। भिडिओका कोरियोग्राफर सुनिल क्षेत्री हुन्।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले 'महाभोज' ले नेपाली समाजमा विद्यमान वर्ग संघर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताए। कार्यक्रममा उपस्थित कलाकारहरूले फिल्म तथा गीत छायांकनका अनुभव सेयर गरे। विशेष गरी दयाहाङ र खगेन्द्रले आफूहरू नृत्यकार नभएता पनि 'महाभोज' का गीतहरूमा नृत्य गरेको बताए।
यस गीतमा स्वर दिएका तथा नृत्य गरेका निश्चलले निर्देशक दिनेश राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए। सन् २०१२ मा एकै वर्ष फिल्म निर्देशन सुरूआत गरेका निश्चल र दिनेशले यसअघि सन् २०१७ मा फिल्म 'पर्व' मा सहकार्य गरेका थिए। सो फिल्मको चर्चित गीत ‘काले दाइ’ मा निश्चलले स्वर दिएका थिए भने नृत्य समेत गरेका थिए।
फिल्म 'महाभोज' क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो। फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरूङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरूङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय छ।
फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कार्यकारी निर्माता किरण नेपाली हुन्। कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। 'महाभोज' जेठ १५ गतेदेखि नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।