फिल्म 'के घर के डेरा: घर नं २' को गीत सार्वजनिक भएको छ।
बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'ढुंगा देउता भयो' बोलको गीत सार्वजनिक गरिएको हो। संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने बिम्बका रूपमा ढुंगा र देउतालाई ल्याइएको छ। सपना नै जिन्दगी जिउने आधार बन्ने यथार्थलाई गीतले उजागर गरेको छ।
सलिन मगरको स्वर रहेको गीतमा शब्द बुद्धिसागर र संगीत निश्चल बस्नेतको छ। गीतको भिडिओमा मुख्य कलाकार केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र लेखक बुद्धिसागर फिचर्ड छन्।
'के घर के डेरा: घर नं २' ले जेठ २ गते (शुक्रबार) रिलिज भएको छ। फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो स्क्रिप्ट हो। दीपेन्द्र के खनालले निर्देशन गरेका छन्।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रूविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।
कृष्णबहादुर थापाको फिल्ममा छायांकन रहेको छ। 'के घर के डेरा: घर नं २' को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।