अमेरिकामा 'कमेडी दरबार इन अमेरिका' हुने भएको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै आर्यन फिल्म्स प्रोडक्सन प्राइभेट लिमिटेडले यसको जानकारी दिएको हो। कम्पनीले शनिबार बिहान 'कमेडी दरबार' निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियोसँग औपचारिक सम्झौता गरेको छ।
कार्यक्रमका लागि आर्यन फिल्म्सका तर्फबाट सिइओ गोपाल कटुवाल तथा 'कमेडी दरबार' को कार्यक्रमको निर्माण कम्पनीकी श्रद्धा प्रसाईंले हस्ताक्षर गरेकी थिइन्।
कार्यक्रम टेक्सास, न्यूयोर्क, ओहायो, मेरिल्याण्ड, भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो, न्यू जर्सी, फ्लोरिडा र ओक्लोहामामा आयोजना हुनेछ।
अमेरिकाको कार्यक्रमको व्यवस्थापनका अमेरिका बस्दै आएका चर्चित नेपाली व्यवसायी तथा समाजसेवी पासाङ लामा जोडिएका छन्। लामा सन् २०२० मा रिटेल व्यवसायीमा नम्बर एक अवार्ड पाउन सफल व्यवसायीसमेत हुन्। लामाका अमेरिकाका विभिन्न राज्यमा डेढ सय बढी ग्यास स्टेसन तथा रिटेल स्टोर संचालनमा छन्।
कार्यक्रमका लागि डेढदेखि दुई करोड नेपाली रूपैयाँ खर्च हुने अनुमान पौडेलले गरेका छन्।
कार्यक्रममा 'कमेडी दरबार' का अधिकाशं कलाकार सहभागी थिए। उनीहरूले पनि अमेरिकामा कार्यक्रम हुन लागेको खुसी व्यक्त गर्दै पूर्ण मनोरञ्जनका लागि तयार रहन अमेरिकावासी नेपालीहरूलाई आग्रह गरे।
कार्यक्रममा सुजाता श्रेष्ठ, विश्वास तिम्सिना, पवित्रा साकी, सुन्दर खनाल, हिमेश पन्त तथा विकास अर्याल उपस्थिति थिए।
आर्यन फिल्म्स सिनेमा तथा म्यूजिक भिडिओ निर्माणमा संलग्न कम्पनी हो। कम्पनीले आफ्नो ब्यानरमा 'रुद्रप्रिया', 'राज्जा रानी', 'तिम्रो मेरो साथ' लगायतका फिल्म निर्माण गरिसकेको छ।
कम्पनीले बोधी एचडी च्यानलमार्फत डिजिटल प्लेटफर्मसमेत संचालन गर्दै आएको छ।