आज शुक्रबारदेखि एक नेपाली फिल्म र तीन विदेशी फिल्म प्रदर्शनमा आएका छन्।
नेपाली फिल्म 'नरसिंहा: अवतार', विदेशी फिल्महरू 'मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ', 'भुलचुक माफ' र 'लिलो एण्ड स्टिच' प्रदर्शनमा आएका हुन्।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म 'नरसिंहा: अवतार' मा राजेश हमाल, सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकार अभिनय छ। यस फिल्ममार्फत अभिनेता राजेश हमालले ८ वर्षपछि अभिनयमा कमब्याक गरेका हुन्।
राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ। फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ।
करण शर्माले निर्देशन गरेको फिल्म 'भुलचुक माफ' मा राजकुमार राव, वामिका गब्बीको मुख्य भूमिका छ। म्याडडोक फिल्म्सको ब्यानरबाट बनेको फिल्मलाई दिनेश विजानले निर्माण गरेका हुन्।
त्रिस्टोफर म्याक्कवारी निर्देशित फिल्म 'मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ' मा टम क्रूज, हेली एटवेल, भिङ राम्स, साइमन पेगको मुख्य भूमिका छ।
डिन फ्लीशर क्याम्प निर्देशित फिल्म 'लिलो एण्ड स्टिच' मा बिली म्याग्नुसेन र हन्ना वाडिङह्यामको मुख्य भूमिका छ।