दुई दशक लामो सिनेमा अध्यापनको यात्रामा थुप्रै दक्ष जनशक्तिहरू उत्पादन गरिसकेको अस्कर कलेजले अब कलेजबाट दीक्षित भएर फिल्म बनाउन बाटो खोजिरहेका प्रतिभाशाली र क्षमतावान् विद्यार्थीहरूलाई फिल्म निर्माणमा सघाउने भएको छ।
कलेजबाट दीक्षित विद्यार्थीहरू र कलेजको सहकार्यमा पहिलोपल्ट निर्माण हुन लागेको फिल्मको शीर्षक अनावरण गरिएको छ। यसैसाता कलेज परिसरमा भएको कार्यक्रममा फिल्मको नाम 'काठमाण्डु कोरिडोर' रहने कुरा सार्वजनिक गरिएको छ।
जेठको दोस्रो हप्तादेखि छायांकनमा जान तयारी हुँदै गरेको फिल्मलाई कार्यक्रममा उपस्थित भएर अग्रजहरू लक्ष्मीनाथ शर्मा, नरेन्द्र खड्काले समेत शुभकामना व्यक्त गरेका छन्।
मिराज मोसन पिक्चर्सको प्रस्तुती तथा अस्कर कलेज र जुन्को पिक्चर्सको सहकार्य रहने 'काठमाण्डु कोरिडोर' फिल्मको निर्देशन सुरज कटुवालले गर्नेछन्। सर्ट फिल्महरूबाट आफ्नो दक्षता साबित गरिसकेका कटुवाल अस्कर कलेजकै पटकथा लेखन तथा फिल्म निर्देशनमा दीक्षित विद्यार्थी हुन्। उनले हाल चर्चामा रहेको फिल्म 'ऊनको स्वीटर' को पटकथा सह–लेखन गरेका हुन्।
फिल्मको निर्माता तथा सिनेमाटोग्राफरको दोहोरो भूमिकामा रहेका उज्जल बास्ताकोटी कान्समा अवार्ड जितेको सर्ट फिल्म लोरी, चिसो एस्ट्रे र पाकिस्तानी फिल्म याज्मिनस् एलिमेन्ट जस्ता फिल्मका सिनेमेटोग्राफर हुन्।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले सिनेमा पढेका विद्यार्थीलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठूलो चिन्ता हुने भएकोले त्यही चिन्ता दूर गर्न कलेजले वर्तमान तथा दीक्षित विद्यार्थीलाई फिल्म निर्माणका लागि सहयोग गर्ने निर्णय लिएको बताए।
उनले भने, 'कलेजबाट प्राविधिक उपकरण र भौतिक स्रोत साधन उपलब्ध भएपछि फिल्म बनाउने आँट गर्न सकिन्छ। अनि यसरी सहकार्य गर्दा क्षमता भएका विद्यार्थीहरूले प्राविधिक तथा कलाकारको रूपमा फिल्ममा काम गर्ने अवसर पाउँछन्।'
काल्पनिक कथाको उतारचढाब भन्दा फरक जिवनका झिनामसिना कुराहरूलाई केलाएर मन छुने कथा भन्न खोजिएको हुँदा यसको तयारी पनि फरक किसिमको भएको निर्देशक सुरज कटुवालले बताए।
'कलाकार छनोट गर्दा हामीले पात्रसँग नजिक भएका कलाकारहरू छनोट गरेका छौं। पर्दामा देखिने सम्बन्धहरु स्वतःस्फूर्त नै आओस् भनेर दुई महिनादेखि वर्कसप गर्दैछौं।'
फिल्मको छायांकार उज्जल बस्ताकोटीले थपे, 'चिसो एस्ट्रेमा काठमाण्डौंलाई एक किसिमले देखाएको थिएँ। यो फिल्ममा काठमाडौंको अर्कै टेक्चर चाहिएको छ। फरक तरीकाले चित्रण गर्नुपर्ने भएकोले निर्देशकसँग लामो समय देखि सहकार्य भइरहेको छ।'
फिल्ममा शान्तिदूत पाण्डे, अञ्जसा रिजाल, गुड्डु, योगेन्द्र राना, इन्दु लम्साल, नुसा लिम्बु, दिपक केसी, सुदन पोखरेल, निरू खड्का, सुवर्ण थापा, सुचित्रा उप्रेती, शाश्वत पाण्डे, कोशिस आचार्यलगायत कलाकारको अभिनय रहने छ।
सर्मिला आलेको सह–लेखनमा बन्ने फिल्ममा कृष्ण भण्डारीले सम्पादनको भूमिका निर्वाह गर्नेछन्। सुदाम सिके कास्टिङ निर्देशक छन्। फिल्मको कला निर्देशन मञ्जुश्री नेपालीले गर्नेछिन् भने आकृति ढुंगानाको प्रोडक्सन डिजाइन रहने छ। निर्माण व्यवस्थापन मदन श्रेष्ठले गर्नेछन्।
सहायक निर्देशकहरु सौरभ मल्ल, अश्विन थापा, सहायक छायांकार रञ्जन महत र सहायक निर्माण व्यवस्थापक विज्ञान थापा रहनेछन्। कलेजका शिक्षक मनोजबाबु पन्तले फिल्मको पटकथा सल्लाहकारको भूमिका निर्वाह गरेका छन्।
'काठमाण्डु कोरिडोर' परम्परागत भन्दा फरक फिल्म बनाउन खोज्ने फिल्ममेकरहरूको लागि पनि कोरिडोर बन्ने निर्माणपक्षले बताएको छ।