भुवन केसीको प्रस्तुति रहेको फिल्म 'बाटुलो जून' को छायांकन सुरू गरिएको छ। शनिबार धादिङको नौबिसेस्थित काउलेबाट फिल्मको छायांकन आरम्भ गरिएको हो।
फिल्मको छायांकन थालेसँगै पोस्टर समेत सार्वजनिक गरिएको छ। जसमा फिल्मका मुख्य कलाकार अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा प्रेमिल भावमा देखिएका छन्। चर्चित टिकटकर तथा मोडल प्रिन्सीको यो डेब्यु फिल्म हुनेछ।
फिल्मका अन्य कलाकारहरूबारे भने जानकारी दिइएको छैन।
'बाटुलो जून' भुवन केसीको निर्देशन र जिया केसीको निर्माणमा बन्न लागेको हो। ग्रामिण परिवेशमा रहेर सुन्दर प्रेमकथामा फिल्म बन्नेछ। यो अनमोलको करिअरकै सस्तो फिल्म भएको समेत बताइएको छ।
अहिले फिल्मको पहिलो चरणको छायांकन भइरहेको हो। दोस्रो चरणको छायांकन भने भदौंमा गर्ने तयारी छ।
