अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म '३६ को आँकडा' को पहिलो झलक (फर्स्टलुक) पोस्टर सार्वजनिक गरिएको छ।
शनिबार सार्वजनिक पोस्टरमा अभिनेत्री रेखा र पूजा शर्मालाई प्रस्तुत गरिएको छ, जसमा रेखा प्रहरी अधिकृतको भूमिकामा देखिएकी छिन् भने अर्की अभिनेत्री पूजालाई उनले हतकडी लगाएर नियन्त्रणमा लिएको दृश्य देखाइएको छ।
पोस्टरले दुई प्रमुख महिला पात्रहरूबीचको द्वन्द्व र टकरावको कथामा फिल्म बन्ने संकेत गर्छ। सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्म आगामी सोमबारबाट फ्लोरमा जाने जनाइएको छ।
फिल्मको शनिबार नै पशुपति मन्दिरमा शुभसाइत पूजा गरेर औपचारिक निर्माण घोषणा गरिएको थियो।
फिल्ममा अभिनेता महेश त्रिपाठी र पुष्प खड्काले पनि शीर्ष भूमिकामा अभिनय गर्नेछन्। रेखा फिल्मस्ले काइट्स इन्टरटेन्मेन्टसँगको सहकार्यमा फिल्म बनाउन लागेको हो।

