अभिनेता अनमोल केसीले फिल्म 'जेरी अन टप' ले राम्रो सुरूआत गरेको बताएका छन्। पहिलो दिनको पहिलो शोमा दर्शक भेट्न सिनेमा हल पुगेका उनले सबैबाट राम्रो प्रतिक्रिया पाएको बताए।
सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, 'हिजोदेखि नै बुकिङ राम्रो थियो। पहिलो दिनको पहिलो शोमा दर्शकको यो माया पाउँदा फिल्मलाई कति कुर्नुभएको रहेछ भन्ने देखियो।'
उनले अगाडि भने, 'हामीले आफ्नो तर्फबाट काम त राम्रो गरेका थियौं। तर, वर्ड अफ माउथ कस्तो आउँछ भन्ने थियो। फिल्म हेरेका दर्शकहरू खुसी हुनुभएको छ। तीन घण्टाको फिल्मले बाँधेर राखेको छ भन्ने प्रतिक्रिया पाएका छौं। राम्रो सुरूआत भएको छ।'
अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरूङले दर्शकको उत्साहले आफूहरूलाई उत्साहित बनाएको बताए। कलाकारहरूले फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा व्यक्त गरे।
शुक्रबार २ सयभन्दा बढी शोका साथ प्रदर्शन आरम्भ गरेको 'जेरी अन टप' मा बिहानी शोबाटै दर्शकको उपस्थिति सुखद् देखिएको छ। बेकुकासम्मकै शोमा बुकिङ सुखद् छ।
सुयोग गुरूङ निर्देशित फिल्ममा अनमोल, आँचल र जसिता गुरुङका साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गीलगायत कलाकारहरूको अभिनय छ। फिल्मले सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथा प्रस्तुत गर्छ।