अभिनेत्री करिश्मा मानन्धरले छोरीमाथि सामाजिक सञ्जालमा 'बडी-शेमिङ' हुन थालेपछि असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै छोरी कवितामाथि बारम्बार 'बडी-शेमिङ'का टिप्पणी हुने गरेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएकी हुन्।
'उसको परिस्थिति के हो? उसले के भोगिरहेकी छ-यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ?'- करिश्माले प्रश्न गर्दै लेखेकी छन्।
सुन्दरता कुनै एक मापदण्डमा सीमित नहुने उनले उल्लेख गरेकी छन्।
अगाडि लेखेकी छिन्, 'यो संसार विविधताले भरिएको छ। के विविधता नै कुरूपता हो? होइन। हरेक व्यक्तिमा आफ्नै किसिमको सौन्दर्य हुन्छ। ऊ जे जस्तो छ, त्यही भएर बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार हो।'
उनले आफ्नो सन्तानप्रति सचेत हुनु वा आफू जस्तो छ, त्यही रूपमा बाँच्न चाहनु अपराध नभएको बताएकी छन्।
करिश्मा अगाडि लेख्छिन्, 'हामी जे जस्ता छौं, प्रकृतिले बनाएका हौं। त्यसमा हामीलाई कुनै गुनासो छैन। यसैमा हामी सन्तुष्ट र खुसी छौं। तपाईंलाई मन पर्दैन भने नहेर्नुस्। तर आफ्नो समय, ऊर्जा र मानसिकता नकारात्मक शब्द लेख्न खर्चिँदा त्यसको असर अन्ततः तपाईंमै पर्छ।'
उनले आफू र आफ्नो परिवारलाई मानसिक क्षति पुगे कानुनी बाटो अपनाउने सक्ने बताएकी छन्।
'मेरो सहनशीलताको पनि सीमा छ। यदि यस्ता गतिविधिले मलाई वा मेरो परिवारलाई मानसिक क्षति पुर्यायो भने कानुनी बाटो अपनाउने जानकारी र अधिकार मसँग छ। यो चेतावनी होइन-आत्मसम्मान र सुरक्षाको स्पष्ट सीमा मात्र हो', करिश्माले लेखेकी छन्।
करिश्माले आफूहरूको निजी जीवनप्रति चासो राख्नु दर्शकहरूको अधिकार हो भन्ने कुरा स्वीकार गरे पनि आलोचनाका नाममा हुने क्रूर व्यवहार अस्वीकार्य भएको स्पष्ट पारेकी छन्।
उनले केही 'स्क्रिन सट' समेत साझा गरेकी छन्।