मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीले सोमबार आफ्नो जन्मदिन मनाइरहेकी छिन्। उनको जन्मदिनमा राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलको शुभकामनालाई लिएर यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ।
कुशलले फेसबुक स्टोरीमा आफूहरूको तस्बिर राख्दै प्रशंसालाई जन्मदिनको शुभकामना दिएका छन्। मन्दिरमा खिचिएको तस्बिरमा दुवैले एक अर्कालाई नमस्कार गरेको देखिन्छ। कुशलले प्रेमिल क्याप्सन लेखेका छन्, 'जसले मलाई राम्रो मान्छे बनाएको छ र मेरो लागि सबभन्दा ठूलो आशीर्वाद बनेको छ, उसलाई जन्मदिनको शुभकामना।'
कुशलले प्रशंसाको नामसहित रेडहार्ट इमोजी समेत उल्लेख गरेका छन्।
यो स्टोरी यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको हो। थुप्रैले यो स्टोरी स्क्रिनसट गर्दै आफ्नो सामाजिक सञ्जालमा समेत साझा गरिरहेका छन्। कुशल र प्रशंसा हालसालै त्रिवि क्रिकेट रंगशालामा एकसाथ देखिएका थिए।
प्रशंसाले नेपाल प्रिमियर लिगमा भुर्तेलले कप्तानी गरेको पोखरा एभेन्जर्समा खुलेकी थिइन्। उनले पोखराको जर्सी तस्बिर सामाजिक सञ्जालमा राखेकी थिइन् भने रंगशालामै पुगेर पोखरालाई समर्थन गर्ने गरेकी थिइन्।
प्रशंसाले 'क्या राम्री', 'मुटुमै बसेछ', 'मलाई पनि', 'माया' लगायतका चर्चित म्युजिक भिडिओमा मोडलिङ गरेकी छिन्। उनी पछिल्लो समय इन्फ्लुएन्सर पनि हुन्।