अभिनेता राजेश हमाल अभिनीत फिल्म 'प्रवासी जीवन' को टिजर सार्वजनिक गरिएको छ।
मंगलबार युट्युबमा सार्वजनिक टिजरमा राजेशसँगै कलाकारहरू सरिता लामिछाने, श्याम क्षेत्री, बुद्धी तामाङ, दिव्या न्यौपाने लगायत फिचर्ड छन्।
नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने संघर्ष, चुनौती र भावनात्मक यात्रालाई फिल्मले चित्रण गर्ने टिजरबाट अनुमान गर्न सकिन्छ। 'प्रवासी जीवन' श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका हुन्।
प्रवासमा पुग्ने जो कोहीले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउने निर्देशक क्षेत्रीले बताए।
उनले भने, 'हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौं तर मानसिक रूपमा भोहिरहेको यातनालाई वे-वास्ता गर्छौं। त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौं। फिल्मले प्रवासी जीवनको एउटा नदेखिएको सरल झैं लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ।'
उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए।
फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, श्याम क्षेत्री, महादेव त्रिपाठी, एञ्जेला एक्स बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रशु गिरी, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले अभिनय गरेका छन्।
'सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल' को सहकार्यसमेत रहेको उक्त फिल्मको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो।
छायाँकार समेत रहेका रविन आचार्य यस फिल्मका निर्माता हुन्। यसमा अमृत बिसुवाले छायांकन, राम अधिकारीले सम्पादन छ।
'प्रवासी जीवन' फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने तालिक छ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।