राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू फिल्म 'झरीपछिको इन्द्रेणी' हेर्न हलमा पुगेका छन्। मंगलबार दिउँसो कमलपोखरीस्थित बिग मुभिज पुगेर उनीहरूले फिल्म हेरेका हुन्।
रविसहित रास्वपा नेता तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, विनिता कठायत, गणेश कार्की लगायतले फिल्म हेरेका छन्। चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी रवि पत्नी निकिता पौडेलले पनि फिल्म हेरेकी छन्।
रास्वपाबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका गायक तथा अभिनेता प्रकाश सपुतले पनि फिल्म हेरेका छन्। त्यस्तै अभिनेता तथा निर्देशक निश्चल बस्नेत लगायतका कलाकारहरूले समेत विशेष शोमा फिल्म हेर्दैछन्।
'झरीपछिको इन्द्रेणी' मा बालेन शाहको र्याप समावेश छ। यस फिल्मका निर्देशक अर्जुन घिमिरे (पाँडे) बालेनको निकट मानिन्छन्। अर्जुन र रास्वपा नेता गणेश कार्कीले फिल्मको लेखनमा सहकार्य समेत गरेका छन्।
'झरीपछिको इन्द्रेणी' पुस ४ गतेदेखि प्रदर्शनमा आएको हो। फिल्मले गत शनिबारसम्म ६२ लाख रूपैयाँभन्दा माथिको कमाइ गरेको छ। यो फिल्म अहिले दोस्रो सातामा प्रदर्शनरत छ।