सिरियलका दर्शकमाझ चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे) ले 'झरीपछिको इन्द्रेणी' मार्फत फिल्म निर्देशनमा डेब्यु गरे।
पुस ४ गतेदेखि प्रदर्शनमा आएको उक्त फिल्मले व्यापार भने अपेक्षित गर्न सकेन। व्यापार कमजोर रहँदा निर्देशक अर्जुनले फिल्मले उचित शो नपाएको समेत गुनासो गर्दै आएका छन्।
बिहीबार बिहान पनि उनले फेसबुकमार्फत पीडा व्यक्त गरेका छन्। उनले फिल्मप्रति दर्शकको रूचि हुँदाहुँदै पनि शो नपाएका कारण हेर्न नपाएको दाबी गरेका छन्।
अर्जुनले लेखेका छन्, 'आज फिल्म बनाएँ। तर तपाईंहरूले हेर्न पाउनुभएन। हेर्न नपाउनुको कारण तपाईंको मन नहुनु होइन। हलमा शो नहुनु हो।'
पाएका शो पनि अपायक समयमा दिइएको उनको गुनासो छ।
अर्जुनले कटाक्ष गर्दै अगाडि लेखेका छन्, 'दिएको शो पनि यति अपायक, यति लाजमर्दो कि कहिले लाग्छ- फिल्म हेर्न मान्छे चिया खाएर आउने हो कि? भात खाएर आउने हो कि? खाजा खाएर आउने हो कि? कि जाडोमा बिहान ७ बजे नै आँखा मिच्दै आउने हो?'
फिल्म व्यापारसँग जोडिएका पक्षप्रति असन्तुष्टि जनाउँदै मनदेखि सहयोग गर्ने व्यक्तिहरूप्रति आभार पनि व्यक्त गरेका छन्। यो समस्या आफ्नो व्यक्तिगत मात्र नभई समग्र नेपाली सिनेमा उद्योगको समस्या भएको उल्लेख गरेका छन्।
'यो लडाइँ आज मेरो मात्रै बनाइयो। तर म जान्दछु, यो लडाइँ सिंगो नेपाली सिनेमा उद्योगको हो,' उनले लेखेका छन्।
जति दर्शकले फिल्म हेरे त्यो आफ्नो जीवनको ठूलो सफलता भएको अर्जुनले उल्लेख गरेका छन्।
अगाडि लेखेका छन्, 'हल भरिनु मात्र सफलता होइन, मुटु छुने आँखा देखिनु पनि सफलता हो।'
फिल्म 'झरीपछिको इन्द्रेणी' ले गत शनिबार (९ दिन)सम्ममा ६२ लाखमाथिको व्यापार गरेको थियो। त्यसयताको कमाइ विवरण सार्वजनिक गरिएको छैन। फिल्म शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्नेछ।