अभिनेता सौगात मल्लले आगामी फिल्म 'बब डाई' को छायांकन सकेका छन्।
प्रबिन श्रेष्ठको निर्देशन रहेको फिल्मको छायांकन ४२ दिनमा सकिएको हो।
दुइटा गीत बाहेक स्क्रिप्टका दृश्यका सम्पूर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले जानकारी दिए। उनका अनुसार फिल्मको सम्पूर्ण छायांकन काठमाडौंको चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाभित्रका स्थानहरूमा गरिएको हो। छायांकन सकिएसँगै निर्माण टिम प्रोस्ट प्रोडक्सनमा लागेको छ। गीतको छायांकन भने केही साता पछि गरिनेछ।
रोटेपिंग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो फिल्ममा कीर्तिपुरको एक युवाको कथा छ। अभिनेता सौगातले बब डाईको भूमिका निभाएका छन्। निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाईलाई डाई भनिने भएकाले फिल्मको नाम 'बब डाई' राखिएको हो।
फिल्म कमेडी जनरामा निर्माण गरिए पनि यसमा कमेडीसँगै दर्शकले धेरै कुरा पाउने निर्देशक श्रेष्ठ बताउँछन्। फिल्ममा सौगातसहित सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय छ।
फिल्ममा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा छ। एसोसिएट निर्देशक दिनेश बहादुर राउत हुन् भने मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन्।
श्याम तामाङको टिमले खिचेको फिल्म निर्देशक प्रबिन श्रेष्ठले नै सम्पादन गर्नेछन्। फिल्मको प्रोडक्सन हेड र कास्टिङ डिरेक्टर नृपेश रूपाखेती हुन्। पोस्टर डिजाइन रोयल भिमसेनको रहेको छ। स्वस्तिका श्रेष्ठको श्रृंगार रहेको फिल्ममा कोरियोग्राफी किरण थापा र सृष्टि महर्जनको छ। एक्सन शंकर महर्जनको रहेको छ भने आर्ट डिरेक्टर घनश्याम श्रेष्ठ हुन्।
फिल्मको निर्माता राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता छन्।
'बब डाई' को प्रदर्शन मिति तोकिएको छैन।