टेलिभिजन सिरियलका चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशकीय डेब्यु फिल्म 'गोबर गणेश' को ट्रेलर सार्वजनिक गरिएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र पात्रबारे जानकारी दिन्छ। ट्रेलर हेर्दा फिल्मले हास्य र मनोरञ्जनको आवरणभित्र सामाजिक कथा प्रस्तुत गर्ने बुझन् सकिन्छ।
ट्रेलरको सुरूआत साधारण परिवेशबाट हुन्छ, जहाँ मुख्य पात्र गणेश (मरिचमान) समाजले हेपेको र सानो काम गर्ने व्यक्तिका रूपमा देखिन्छन्। फिल्मको शीर्षक ‘गोबर’ शब्दले समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई प्रतीकात्मक रूपमा उजागर गर्छ।
ट्रेलरका दृश्यहरूबाट गणेश दैनिक जीवनमा अपमान, उपेक्षा र संघर्ष झेलिरहेको पात्र रहेको प्रष्ट हुन्छ। उक्त पात्रको काठमाडौं यात्रा, अन्य पात्रसँगको सम्बन्ध र उतारचढावको कथा फिल्मले प्रस्तुत गर्छ। हास्यपूर्ण संवाद र परिस्थितिहरूले ट्रेलरलाई हल्का बनाएको भए पनि ती दृश्यहरूले श्रमिक वर्गको पीडा, आत्मसम्मान र मानवीय गरिमाको प्रश्न उठाएको बुझन् सकिन्छ।
समग्रमा, 'गोबर गणेश' को ट्रेलरले फिल्म हास्यप्रधान भए पनि साधारण मान्छेको असाधारण संघर्षको कथालाई पर्दामा उतार्ने प्रयास गरेको गरेको स्पष्ट संकेत दिन्छ।
फिल्ममा मरिचमानका साथमा वर्षा शिवाकोटी, पदम तामाङ, पुजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरूङ, विशाल पहाडी, रमेश बुढाथोकी, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, बिनोद न्यौपाने, सन्तोष बानियाँलगायत कलाकारहरूको अभिनय छ।
'बल्छी धुर्बे फिल्मस्' को प्रस्तुति रहेको ‘गोबर गणेश’ को कथा मरिचमान स्वयंको हो। फिल्मको छायांकन शिवराम श्रेष्ठको हो भने विपीन मल्लले सम्पादन गरेका छन्।
'गोबर गणेश' माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।