विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म 'ऊनको स्वीटर' ले डिजिटल प्लेटफर्ममा पनि लोभलाग्दो माया पाएको छ।
सिनेमा हलमा सुपरहिट व्यापार गरेको फिल्मले युट्युबमा तीन साता नबित्दै एक करोड भ्युजको आँकडा पार गरेको हो।
आर्टमाण्डुको प्रस्तुति रहेको 'ऊनको स्वीटर' माघ ८ गते युट्युबमा सार्वजनिक गरिएको थियो। फिल्मलाई आइतबार (१८ दिन) सम्ममा एक करोडभन्दा बढीपटक हेरिएको हो।
युट्युबमा दर्शकहरूले यसको कथावस्तु, संगीत र अभिनयको खुलेर प्रशंसा गरिरहेका छन्। ३ लाख २२ हजार बढीले लाइक गरेका छन् भने १९ हजार बढी प्रतिक्रिया आएका छन्। धेरैले यसको सिक्वेल आउनुपर्छ भनेर समेत प्रतिक्रिया दिएका छन्।
फिल्मका लेखक तथा निर्देशक नवीन चौहानले डिजिटल रिलिजमा पनि नसोचेको प्रतिक्रिया पाएको भन्दै खुसी व्यक्त गरे। 'यो अंक मात्र होइन, यो लाखौं मनको स्पर्श हो। अनगिन्ती आँखाले महसुस गरेको एउटा कथा हो', चौहानले सामाजिक सञ्जालमा खुसी साटेका छन्।
सिनेमा हलमा गत बैशाखमा रिलिज फिल्मले नेपालमा १२ करोड रूपैयाँमाथिको व्यापार गरेको थियो।
फिल्ममा विपिन र मिरूनासहित सुनिल पोखरेल, माओत्से गुरूङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परिक्षा लिम्बु, सुरज तमुलगायत कलाकारहरूको अभिनय छ।
'ऊनको स्वीटर' को रनटाइम २ घण्टा २७ मिनेट छ।