निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म 'कस्तुरी' को शुभमुहूर्त गरिएको छ। मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै फिल्मको छायांकन पनि सुरू गरिएको हो।
निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको छायांकन थालिएको बताए। उनले भने,'हामीले आजैबाट फिल्मको छायांकन थालेका छौं। यसको अधिकांश छायांकन काठमाडौं र आसपासका क्षेत्रमा हुनेछ।'
निर्देशक बोहोराका अनुसार फिल्मले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरू उजागर गर्नेछ। यस फिल्ममार्फत अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन साझा गर्न लागेका हुन्।
फिल्ममा निखिल र वर्षासहित शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरूङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमलगायत कलाकारहरूको अभिनय रहनेछ। साथै, विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटी पनि देखिनेछन्।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक ऋत बोहोराले नै लेखेका हुन्। फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह-निर्मातामा अञ्जली चौधरी रहेकी छन्।
फिल्मको छायांकन आलोक शुक्लाले गर्नेछन् भने प्रमुख सह-निर्देशकको जिम्मेवारी ललित बिष्टले सम्हाल्नेछन्। त्यसैगरी फिल्मको संगीत प्रशान्त शिवाकोटीको रहनेछ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दैछन्।