फिल्म 'लालिमा' फागुन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो।
यस फिल्ममा अभिनेत्री रोशनी कार्की शीर्ष भूमिकामा छन्। साथमा उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी, सुष्मा निरौलालगायत कलाकारहरू मुख्य भूमिकामा देखिनेछन्।
निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो।
फिल्ममा 'लालिमा' को भूमिका अभिनेत्री रोशनीले निर्वाह गरेकी हुन्। उनको आमाको भूमिकामा उषा छिन्।
फिल्मको कथाबारे निर्देशक मिराजले भन्छन् 'फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ। एउटा घटनापछि बोल्न नसक्ने लालिमाकी आमा कारगार पुग्छिन्। आमालाई कारागार मुक्त गराउने क्रममा लालिमा सहरको कठोर र अँध्यारो संसारतर्फ धेकेलिन्छिन्। त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुन्छिन्। यही कथावस्तुमा फिल्म बनेको हो।'
पोस्टरमा अभिनेत्री रोशनी कार्कीलाई एकल फिचर्ड गरिएको छ। उनले एक झ्लालको छेऊमा संकटग्रस्त अवस्थामा बसेकी देखिन्छिन्। उनको शरीरको माथिल्लो भागको कपडा छैन र एक सेतो कपडाले उनले शरीर छोपेकी छन्। लालीले लतपतिएको उनको अनुहारले पात्रको जीवनप्रति गहिरो संशय र पीडाको संकेत गर्छ।
निर्देशक मिराजका अनुसार 'लालिमा' केवल पीडाको कथा मात्र नभई शोषण र संरचनागत अन्यायविरुद्ध नझुक्ने मानवीय साहसको कथा हो। फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन्।
फिल्मको लेखक निर्देशक मिराज स्वयं हुन्।