आना शर्मा र सुशान्त केसीबीच ब्रेकअपको चर्चा चलेको समयमा फिल्म 'रमिताको पिरती' मा समावेश सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ।
सुशान्तले फिल्म रिलिजको चौथो दिन 'तिम्रै छेऊमा' बोलको गीत फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन्। यो गीतमा सुशान्तको स्वर तथा संगीत सुन्न सकिन्छ।
केही समयअघि आना र सुशान्तले इन्स्टाग्राममा एक अर्कालाई अनफलो गरेको समाचारले उनीहरूबीच सम्बन्ध बिग्रिएको हल्ला चलेका थिए। तर आनाको मुख्य भूमिका रहेको फिल्ममा सुशान्तले गीत दिनुले उनीहरूबीचको सम्बन्ध हार्दिक रहेको संकेत गर्छ।
यति मात्र होइन, सुशान्तले 'रमिताको पिरती' राम्रो बनेको प्रतिक्रिया दिँदै आनालाई इन्स्टाग्राम पोस्टमा शुभकामना पनि दिएका थिए।
सार्वजनिक गीतमा धिरज मगर र आनाबीचका दृश्यहरू समेटिएका छन्। गीतले उनीहरूका हार्दिक क्षणहरूलाई देखाउने प्रयास गर्छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको 'रमिताको पिरती' मा दर्शक बढ्दै गएको निर्माता सागर लम्सालले बताएका छन्। यो फिल्मले दर्शकबाट प्रतिक्रिया पनि सकारात्मक पाइरहेको छ।
अर्का निर्माता सुवास कोइरालाले डिलडेसँगै फिल्मको व्यापारमा बृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
सुदिप्ताको लेखन तथा निर्देशनमा बनेको फिल्मले रमिता नामकी युवतीको सम्बन्धका आयामहरूको कथा प्रस्तुत गर्छ।
फिल्ममा आना र धिरजसँगै समिर श्रेष्ठ, विनय श्रेष्ठ, जियाना, गौमाया गुरूङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोलगायत कलाकारहरूको अभिनय छ।