महाशिवरात्रिको अवसर पारेर शुक्रबारदेखि तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।
सुदीप भूपाल सिंह निर्देशित 'श्री बुकुरोः द होम कलिङ', सन्तोष कुमार आत्रेय निर्देशित 'शिवांशः च्याप्टर १' र रमेश कोइराला निर्देशित 'बिगुल' देशभरका सिनेमा हलमा रिलिज भएका हुन्।
सामाजिक विद्रोह, पारिवारिक संवेदना र पौराणिक कथावस्तु समेटिएका फरक–फरक स्वादका फिल्म दर्शकमाझ आएका हुन्।
पारिवारिक कथामा बनेको ‘श्री बुकुरो’ ले जीवनका विभिन्न उतारचढावबीच मानिस आफ्नै घर र माटोतर्फ फर्किँदा प्राप्त हुने आत्मबोध र सम्बन्धको पुनस्र्थापनालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। घर भनेको केवल भौतिक संरचना नभई भावना र आत्मीयताको केन्द्र हो भन्ने सन्देश कथामार्फत व्यक्त गरिएको छ।
फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद बी क्षेत्री, निकिता आचार्यलगायत कलाकारहरूको प्रमुख भूमिका छ। युनिभर्सल सर्टिफिकेट प्राप्त यो फिल्मको रनटाइम २ घण्टा ३३ मिनेट छ।
त्यस्तै, 'शिवांशः च्याप्टर-१' पौराणिक कथालाई आधुनिक परिवेशसँग जोडेर निर्माण गरिएको फिल्म हो। फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विकाश जोशी, रूशा न्यौपानेलगायत कलाकारहरूको अभिनय छ। युनिभर्सल सर्टिफिकेट प्राप्त फिल्मको रनटाइम २ घण्टा १४ मिनेट छ।
त्यसैगरी फिल्म 'बिगुल' फिल्मले व्यक्तिगत पीडाबाट सुरु भएको संघर्षलाई व्यवस्थाविरुद्धको आन्दोलनमा रूपान्तरण गरेको कथा प्रस्तुत गर्छ। फिल्ममा बेनिशा हमाल, नरेन खड्का, बिनोद न्यौपाने, रमेश बुढाथोकीलगायत कलाकारहरूको अभिनय छ।
यो फिल्मले पनि युनिभर्सल सर्टिफिकेट पाएको छ भने यसको रनटाइम २ घण्टा १९ मिनेट छ।
धार्मिक महत्व बोकेको महाशिवरात्री पर्वका अवसरमा एकसाथ प्रदर्शनमा आएका यी तीनै नेपाली फिल्मले फरक विषयवस्तु र सन्देशमार्फत दर्शक तान्ने प्रयास गरेका छन्। फिल्मले दर्शकबाट कस्तो साथ पाउने हुन्? नतिजाका लागि भने केही दिन कुनुपर्नेछ।