चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३ औं दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।
उक्त अवसरमा स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै पत्रकार तथा कलाकारहरूले उनीप्रति श्रद्धासुमन अर्पण गरेका थिए।
संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी उपस्थित थिए। कार्यक्रममा अध्यक्ष बलामीले कम्तीमा १० लाख रूपैयाँभन्दा बढीको अक्षय कोष स्थापना गर्ने घोषणा गरे। हरेक वर्ष माघ १८ गते स्व. दिनेश सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने तथा संघको वार्षिक उत्सवका अवसरमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित उक्त अक्षय कोष स्थापना गरिएको उनले जानकारी दिए।
विकास बोर्ड अध्यक्ष दिनेश डिसीले स्व. सिटौलाको नेपाली फिल्म उद्योग र फिल्म पत्रकारितामा रहेको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न अपिल गरे।
उनले स्व. सिटौलाले पुराना तथा नयाँ पुस्ताका पत्रकार र फिल्मकर्मीहरूबीच सहकार्य र सहजीकरणको वातावरण सिर्जना गर्दै आएको उल्लेख गर्दै बोर्डका तर्फबाट अक्षय कोषमा ५१ हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरे।
त्यसैगरी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्व. सिटौलाको योगदानको चर्चा गरे। उनले व्यक्तिगत रूपमा १० हजार रूपैयाँ सहयोग प्रदान गरे।
कार्यक्रममा संघका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा फिल्म पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा, रोयल आचार्यलगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिटौलाको योगदानको चर्चा गरेका थिए। स्थापित अक्षय कोषमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट सहयोग घोषणा गरिएको छ। ओएसआर डिजिटलले ३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले २५ हजार, निर्माताद्वय सरोज वली र मोहितवंश आचार्यले २५ हजार, षट्कोण आट्र्सले २५ हजार, दिलासा क्रिएसनका तर्फबाट फिल्म पत्रकार लक्ष्मण सुवेदीले ११ हजार तथा फिल्म 'राम नाम सत्य' टिमले १० हजार रूपैयाँ सहयोग घोषणा गरेका छन्। यसअघि चलचित्र पत्रकार तथा अन्य सहयोगी निर्माता एवं व्यक्तिहरूबाट ३ लाख रूपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको संघले जनाएको छ।
यसैबीच, प्रदर्शनको ५१ औं दिनको अवसरमा फिल्म 'झरी पछिको इन्द्रेणी' टिमले अक्षय कोषका लागि १० लाख रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।