अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा फिल्म 'माया भनेकै यस्तो होला' निर्माण हुने भएको छ। महाशिवरात्रिको अवसर पारेर आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको औपचारिक घोषणा गरिएको हो।
यो फिल्ममार्फत रेखा ७ वर्षको अन्तरालपछि निर्देशनमा फर्किएकी हुन्। यसअघि 'हिम्मतवाली' र 'मालिका' निर्देशन गरिसकेकी रेखाको ‘माया भनेकै यस्तो होला’ तेस्रो निर्देशकीय फिल्म हुनेछ।
रेखाले यसपटक आफ्नै ‘रेखा फिल्मस्’ भन्दा बाहिरको ब्यानरमा काम गर्न लागेकी हुन्। ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको जम्बो टोली रहनेछ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा रहनेछन्। साथै, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहनेछ।
निर्माण पक्षले फिल्मको घोषणसँगै दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ। पहिलो पोस्टरमा दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएका छन्, जसले प्रेमकथाको संकेत गर्छ।
दोस्रो पोस्टरमा मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठ भावुक मुद्रामा देखिएका छन्। यो पोस्टरले पारिवारिक सम्बन्ध र जिम्मेवारीको झल्को दिन्छ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्ममा सुदीप बरालको डिओपी रहनेछ। ध्रुब लम्सालको लेखन रहेको फिल्ममा अनिरूद्ध आत्रेय प्रमुख सहायक निर्देशक, प्रशान्त सिवाकोटी संगीतकार छन्।
घोषणा कार्यक्रममा बोल्दै निर्देशक रेखा थापाले फिल्म समाजमा घटेका घटनामा आधारित रहेको बताइन्। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्ममा आफ्नो सशक्त भूमिका रहने उल्लेख गर्दै फिल्म राम्रो बन्ने विश्वास व्यक्त गरे।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरू हुनेछ। आगामी वर्ष तीजको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।