निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म 'पहाड' को प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्म आगामी वर्ष २०८३ को बैशाख १ गते अर्थात् नयाँ वर्षको दिन रिलिज हुने भएको हो।
युवा जनशक्ति विदेश पलायन हुँदा रित्तिँदै गएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई मुख्य कथावस्तु बनाइएको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकमाझ प्रस्तुत गर्ने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए।
उनका अनुसार वितरकसँग छलफल गरी प्रदर्शन मिति तय गरिएको हो।
उनले भने, 'नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै बाँकी प्राविधिक काम पूरा गर्न आवश्यक समयको मूल्यांकन गरेर मिति तय गरेका हौं। फिल्मको विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई नयाँ वर्षको अवसरमा स–परिवार हल गएर हेर्न मिल्ने समय रोजेका हौं।'
'बलिदान' पछि मदनकृष्ण श्रेष्ठ र 'चिनो' पछि सुनिल थापासँग पुनः सहकार्य गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वस्त छन्। उनले पुराना कलाकार झैं नयाँमा पनि आफ्नो पात्र र कामप्रतिको समर्पण उस्तै पाएको बताए।
उनले भने, 'मानव बसोबासविहीन बन्दै गइरहेका उच्च पहाडको कथा समेटिएको यो फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्म हेरिरहँदा दर्शकले आफ्नोपन र आफ्नै कथा पाउनु हुनेछ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।'
ओजस्वी केसी निर्माता रहेको फिल्म प्रमोद प्रधानले छायांकन गरेका हुन्। भारतमा फिल्म, वेबसिरिज र टेलिफिल्मसमेत छायांकन गरिसकेका छायाँकार प्रधानले यसअघि निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरिसकेका थिए।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरूण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारहरूको अभिनय छ। निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउँदैछन्। साथै, प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्।
यसमा रञ्जित गजमेर संगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक छन्।
रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ सह–निर्माता रहेको फिल्म नेपालमा वैंकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ। पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो।