प्रदर्शन तयारीमा रहेको फिल्म 'लालिमा' को टिजर सार्वजनिक भएको छ।
तीन हजार यौनकर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको भनिएको फिल्मको निर्माणपक्षले आइतबार दोस्रो टिजर सार्वजनिक गरेको हो। टिजर शीर्ष अभिनेत्री रोशनी कार्की केन्द्रित छ।
एक मिनेटको टिजरमा रोशनीसँग अभिनेत्री सुष्मा निरौला, उषा रजक र अभिनेता जीवन भट्टराई जोडिएका छन्। समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ। कलाकार शिशिर वाङ्देल र सबिन कट्टेल पनि टिजरमा अटाएका छन्।
यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षण हो। टिजरको सुरूआतमा यौनकर्मीको चरित्रमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुको साथमा सहर बाहिर पुगेको देख्न सकिन्छ। यी दृश्यले उनको चरित्रको उतार-चढावमार्फत् तीन हजार यौनकर्मीको जीवन जटिलता फिल्ममा देखाइएको संकेत गर्छ।
'लालिमा' को लेखक तथा निर्देशक रोशन मिराज हुन्। फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले यसको वितरणको जिम्मेवारी लिएको छ।
'लालिमा' फागुन २९ गतेदेखि प्रदर्शनमा आउने तालिका छ।