नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी) को २०औं ग्राजुएसन फेसन शो 'विविधायन सौन्दर्यम्' शनिबार ललितपुरको झम्सिखेलस्थित द प्लाजा नेपालमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रकृतिबाट प्रेरित सिर्जनात्मकता, कल्पनाशक्ति र कलात्मक अभिव्यक्तिको समिश्रण प्रस्तुत गर्ने यो कार्यक्रम नयाँ पुस्ताका डिजाइनरहरूको प्रतिभा उजागर गर्ने सशक्त मञ्च बनेको थियो।
फेशन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थी डिजाइनरहरूले ६ वटा फरक–फरक अवधारणामा आधारित संग्रहमार्फत नेपालको प्राकृतिक भू–दृश्य, जैविक विविधता र सांस्कृतिक सौन्दर्यलाई रनवेमा जीवन्त बनाएका थिए। 'विविधायन सौन्दर्यम्' अर्थात् विविधताबाट उत्पन्न हुने सौन्दर्य भन्ने मूल अवधारणाले सम्पूर्ण प्रस्तुतिको वैचारिक आधार तयार गरेको थियो।
कार्यक्रमको शुभारम्भ कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिबाट भएको थियो भने सम्पूर्ण शोको कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए। कार्यक्रममा ३२ जना मोडलहरूले डिजाइनरका सिर्जनालाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।
शोमा प्रस्तुत संग्रहहरू प्रकृतिका विविध पक्षबाट प्रेरित थिए।
'नेपालियम' ले हिमनदी र पानीको सम्बन्ध, 'इरिडेसन्ट शेल्स' ले कीराको सुरक्षात्मक संरचना, 'आवरण मृत्तिका' ले माटोको गहिराइ, 'एभियोरा' ले हिमाली उडान र स्वतन्त्रता, 'रेड लिस्ट रिभेरी' ले संकटग्रस्त वन्यजन्तु संरक्षणको सन्देश, र 'वनस्पति कुसुम' ले पुष्पीय सौन्दर्यलाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए। प्रत्येक संग्रहको अन्त्यमा प्रस्तुत 'मास्टरपिस' डिजाइनले डिजाइनरहरूको अवधारणा र सिर्जनात्मक यात्राको सार झल्काएको थियो।
कार्यक्रममा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करण पनि विमोचन गरिएको थियो। साथै विभिन्न क्षेत्रका विज्ञहरूको निर्णायक मण्डलले विद्यार्थीहरूको कामको मूल्यांकन गरेका थिए। कार्यक्रम सफल बनाउन विद्यार्थीहरूको व्यवस्थापन टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
यो फेसन शो पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सञ्चालित ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्ट कार्यक्रमको महत्वपूर्ण शैक्षिक अङ्ग हो, जसले विद्यार्थीहरूलाई आफ्नो सिर्जना र अनुसन्धान प्रस्तुत गर्ने अवसर प्रदान गर्दछ। समग्रमा, 'विविधायन सौन्दर्यम्' नेपाली फेसनको उदीयमान भविष्य र नयाँ पुस्ताको सृजनशील क्षमताको प्रभावशाली प्रतिबिम्बका रूपमा स्थापित भएको देखिन्छ।
तस्बिरहरूः
-1774757127.jpg)
-1774757127.jpg)
-1774757127.jpg)
-1774757127.jpg)
-1774757125.jpg)
-1774757125.jpg)
-1774757126.jpg)
-1774757126.jpg)
-1774757126.jpg)
-1774757126.jpg)